तत्काल स्थायी समिति र केन्द्रीय कमिटी बैठक असम्भव


नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउन नसकिने जवाफ दिनुभएको छ ।
पार्टीभित्र जारी विवाद समाधानका लागि स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माग गरेपछि दुवै बैठक तत्काल गर्न नसकिने प्रधानमन्त्री ओलीले जवाफ दिनुभएको हो ।
मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिएको बताउँदै आफ्नै पार्टीमै समस्या रहेको भन्दै्र असन्तुष्टि पोख्नुभएको हो । ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४ सय ५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो, के गर्ने हो सोच केही छैन, स्थायी कमिटी अहिले बस्नुप¥यो, भरे बस्नुप¥यो, यसबाहेक केही छैन’ –प्रधानमन्त्री ओलीले भन्नुभयो । देश र जनताप्रति गम्भीर उदासिनता देखाउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको उहाँले बतााउनुभयो ।
संकटलाई विरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राख्नुभयो । ‘कहिले लकडाउन किन भनेर विरोध, कहिले लकडाउन खोलेको भनेर विरोध, महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नुहुन्न’ –उहाँले भन्नुभयो ।
गौतम निवासमा पालैपालो ओली–प्रचण्ड
नेकपाका उपाध्यक्ष वामदेव गौतमले जारी विवाद समाधानको लागि छ बुँदे खाका अगाडि सारेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली गौतम निवास भैंसेपाटीमा पुगेको केही दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि गौतमलाई भेटन निवासमै पुग्नुभएको छ ।
मंगलवार प्रचण्ड र उपाध्यक्ष करिव ४० मिनेट भेटवार्ता भएको थियो । भेटवार्तामा खास गरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनुभयो । गौतमले गत साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरी त्यसबाटै निकास खोज्नुपर्ने प्रस्ताव अगाडि सानुभएको थियो ।
गौतमको उक्त प्रस्तावमा महाधिवेशनसम्म ओलीले दुवै पद छाड्न नपर्ने तर प्रचण्डलाई पार्टीको पूर्ण जिम्मेवारी दिनुपर्ने उल्लेख छ । यो प्रस्तावमा ओली समूह सकारात्मक छ भने प्रचण्ड–नेपाल समूह ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्नुपर्ने अडानमा उभिएको छ । प्रचण्डसँगको भेटमा पनि गौतमले आफ्नो प्रस्ताव पार्टी एकतालाई थप मजबुत बनाउन ल्याएको भन्दै त्यसैलाई टेकेर निकास खोज्नुपर्ने बताइएको छ ।
सरकारलाई देउवाको ७ बुँदे सुझाव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा १ लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीले बोलाएको विज्ञसँगको छलफलमा प्रतिपक्षी दलका नेताको रुपमा सहभागी देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा १ लाख नयाँ परीक्षण तत्काल शुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिनुभएको हो ।

कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सभापति देउवाले सुझाव दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न पनि उहाँले सुझाव दिनुभयो ।