वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

0
Shares

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ ।आफु संक्रमित भएको जानकारी मेयर सरावगीले फेसबुकमार्फत जानकारी दिएका छन् । मेयर सरावगीले जनताको सेवामा खट्दा खट्दै कोरोना संक्रमण भएको र हाल उपचाररत रहेको फेसबुक स्ट्याटसमा भनेका छन् ।

मेयर सरावगीको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै :

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरे । वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए ।

वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु । पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।