अभियानले सार्थकता नलिएसम्म विश्राम नलिने घोषणा

0
Shares

 नेपाल समाचारपत्र, काठमाडौं
कोरोना भाइरस संक्रमणले मुलुक संकटतर्फ उन्मुख हुँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै केही युवा सरकारलाई घचघच्याउन सडकमा निस्के ।
मुलुक सञ्चालनको बागडोर सम्हालेका व्यक्तिले नै कोरोना संक्रमण रोकथाममा उदासिन बनेको भन्दै केही युवाले गएको जेठको दोस्रो हप्ताबाट बालुवाटारबाट इनफ इज इनफ अभियान सञ्चालन गरे ।
‘बालुवाटारमा शुरु भएको उक्त अभियानमा सहभागी भएका युवालाई सुरक्षाकर्मीले बालुवाटार क्षेत्रमा बस्न दिएन । पटकपटक धरपकड गर्ने कामलाई निरन्तरता दियो । उनीहरुको आन्दोलनमा गैरराजनीतिक क्षेत्रका युवाहरु जुर्मुराए । आन्दोलनले बिस्तारै स्वरुप परिवर्तन गर्न थालेपछि सुरक्षा निकायले आफ्नो डिउटी मात्र निभाएन उनीहरुको आन्दोलनलाई निस्तेज पार्न बलसमेत प्रयोग गर्न थाल्यो’ – इनफ इज इनफ आन्दोलनलाई समर्थन गर्दै आएका युवा सागरमणि धिताल आफ्नो अनुभव सुनाउँछन् ।
बालुवाटारमा पटकपटक धरपकड भएपछि युवाहरु सरकारको ध्यानाकर्षण गराउन ललितपुरको मंगलबजारसमेत पुगे । उनीहरुलाई त्यहांँ पनि सुरक्षाकर्मीले पिछा गर्न छाडेन । उनीहरुको आन्दोलनलाई निस्तेज पार्न राज्य संयन्त्रले सबै शक्ति प्रयोग गरेको आरोप लगाउँछन् अभियान्तहरु । बालुवाटारबाट मंगलबजारमा गएर अनशन बसेका पुकार बमलगायतका अभियान्तासँग स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उनीहरुले उठाएको माग पूरा गर्ने भन्दै असार २३ मा १२ बुँदे सहमति पनि गरे ।
तर सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरि बाध्य भएर अनशन बसेका छन् । उनीहरु अनशन बसेको पनि आज १३ दिन बितिसकेको छ ।
इनफ इज इनफको आन्दोलनमा अहिले साझा पार्टीले समर्थन गरेको छ । उसले उनीहरुको आन्दोलनमा प्रत्यक्ष सहभागी भएर युवा अभियान्ताहरुलाई सहयोग पनि गर्दै आएको छ ।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र सुरक्षा निकायले अनावश्यक रुपमा उनीहरुको आन्दोलनलाई असफल बनाउने काम गर्दै आएको बताउनुहुन्छ ।
बालुवाटार, मंगलबजार हुँदै वसन्तपुरमा आएर अनशन बसेका युवाहरुलाई समर्थन गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत युवा अभियान्ताको माग सम्बोधन गर्न सरकारलाई पटकपटक आग्रह गरे पनि सरकारले भने उनीहरुसँगको सम्झौता कार्यान्वयनमा खासै ध्यान दिएको देखिँदैन ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै शुरु भएको यो आन्दोलनले राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाउन थालेको छ ।
यो अभियानका अभियान्तालाई अहिले सरकारी सुरक्षा निकायले कुनै हर्कत गर्न नदिने बरु जहाँ पायो त्यहीं नै पक्राउ गर्ने गरेको छ ।
बुधबार मात्रै अभियानका एक प्रमुख पात्र पुकार बमलाई प्रहरीले गृह मन्त्रालयबाट पक्राउ गरी नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा ल्याएर राखेको थियो । सूचनाको हक माग्न गएका बमलाई प्रहरीले पक्राउ गरेपछि युवाहरुले सामाजिक सञ्जालबाट तीव्र विरोध गरेकै कारण राज्यले बाध्य भएर बमको रिहाइ गरेको थियो ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप बढेपछि अभियान्तहरु सरकारविरुद्ध डटेर लागेपछि उनीहरुको अभियानमा समर्थन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।
सुरक्षा निकायको पानीको फोहोरादेखि लाठीसम्म खाएका अभियान्ताहरु अब अभियानले सार्थकता नलिएसम्म विश्राम नलिने घोषणा गरेका छन ।