बाढीपिडितलाई सघाउँदै प्रियंका

0
Shares

बलिउड र हलिउड अभिनेत्री प्रियंका चोपडा जति फिल्म दुनियाँमा चाख राख्छिन्, त्यस्तै सामाजिक कार्यमा पनि रुचि राख्छिन्। उनले हालै भारतको आसामको बाढीपीडितका निम्ति सहयोगी हात अघि बढाएकी छिन्।
उनले आफ्नो पति तथा हलिउड गायक निक जोन्ससँग मिलेर बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेकी हुन्।

बलिउड तथा हलिउडमा समेत चर्चित यो जोडीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकलाई समेत सकेको सहयोग गर्न अनुरोध गर्दै दान गर्नका लागि दुई संगठनको नाम दिएका छन्। प्रियंकाले ट्विट गरेकी छिन्– ‘हामी सबै महामारीको प्रभावबाट पीडित छौं। यहीबीच भारतको राज्य आसाम अर्को एक ठूलो संकटसँग जुधिरहेको छ। वर्षाका कारण आएको बाढीका कारण त्यहाँका लाखौं मानिस प्रभावित भएका छन्। उनीहरूका लागि हाम्रो सहयोगको खाँचो रहेको छ।’

प्रियंका आसाम राज्यकी ब्रान्ड एम्बेसडरसमेत हुन्। उनले उक्त राज्यको पर्यटन प्रवद्र्धनका लागि केही पहलसमेत गरेकी छिन्। यसभन्दा अघि निक तथा प्रियंकाले कोरोना भाइरस पीडितका लागि पनि दान दिएका थिए। यो जोडीले प्रधानमन्त्री राहत कोष तथा मुख्यमन्त्री राहत कोषमा पनि दान दिएका थिए।