कोरोना संक्रमित अस्पताल बाहिर नै

0
Shares

काठमाडौं, (नेस)
वीरगन्जमा पहिलाका कोरोना संक्रमित निको भएर घर फर्किसकेका र अहिले थप नयाँ ३४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । नारायणी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार मात्र थप ३४ जनामा संक्रमण देखिएको हो ।
नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार हाल संक्रमण देखिएकामा २ देखि ६५ वर्षसम्मका छन् । संक्रमितमध्ये १० जना महिला र ५ जना बालबालिका रहेका छन् । त्यसै गरी संक्रमित हुनेमा १ नेपाली सेना, ३ प्रहरी र ६ कैदीबन्दीसमेत रहेका छन् । संक्रमित हुनेमा २ जना कारागारका कर्मचारीसमेत रहेका छन् । डा. उपाध्यायले नारायणी अस्पतालकै १ जना चिकित्सकलाई समेत संक्रमण देखिएको बताउनुभयो ।
संक्रमितहरु कोही कन्ट्याक ट्रेसिङबाट र कोही सशुल्क परीक्षण गराउँदा प्रमाणित भएको अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले ५० बेडको कोभिड–१९ अस्थायी अस्पतालमा अहिले ६३ जना राखिएको र त्यसमध्ये ५ जना आईसीयूमा रहेको जानकारी दिनुभयो । आईसीयूमा रहेका एक जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
डा. उपाध्यायले अस्पतालमा क्षमता नभएपछि पछिल्लो तीन दिनयता कुनै पनि संक्रमितलाई अस्पतालमा राख्न नसकिएको समेत जानकारी दिनुभयो । उहाँले ८६ जना संक्रमित अस्पताल बाहिर नै रहेका जानकारी दिनुभयो ।