च्याउ खाँदा एकैघरका चारको मृत्यु

0
Shares

वासुदेव शर्मा, जाजरकोट

जाजरकोट कुशे गाउँपालिका–१ स्याँक्रीमा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर गम्भीर बिरामी परेका थप ३ जना बालबालिकाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । गत सोमबार १ बालिकाको घरमै मृत्यु भएको थियो ।

साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा पकाएर खाएका घरमुली टेकबहादुर चलाउनेसहित ८ जना बिरामी परेका थिए । उनीहरुलाई थप उपचारका लागि कुशे गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाएको थियो ।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसारा चलाउने, १३ वर्षीया छोरी धनसरा चलाउने र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बताउनुभयो ।

घरमुली टेकबहादुर चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको सोमबार गाउँमै मृत्यु भएको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । बिरामीमध्ये १ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताउनुभयो ।

बिरामीलाई ढिलो गरी अस्पताल ल्याएको हुँदा विषले शरीर विषाक्त बनाई धेरै असर गरेकाले जति कोसिस गर्दा पनि बचाउन नसकिएको डा. पौडेलले जानकारी दिनुभयो ।

५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित चलाउने, ३० वर्षीया बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको सुर्खेतमा उपचार भइरहेको छ । गाउँपालिकाको निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर बिरामीको उपचारका लागि सुर्खेत पु¥याएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताउनुभयो ।