लकडाउनपछि सर्वोच्चमा सबैभन्दा बढी इजलास गठन

0
Shares

काठमाडौं, (नेस)
लकडाउनपछि सर्वोच्च अदालतमा पहिलोपटक सोमबार १० वटै इजलास गठन भएका छन् । लकडाउनको समयमा र लकडाउन खुलेपछि पनि सीमित इजलास मात्र गठन भएको सर्वोच्चमा सोमबार पहिलोपटक १० वटै इजलास गठन भएको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको सहित ११ वटा इजलास रहेको छ । तीमध्ये आइतबार १० वटा इजलास गठन भएका थिए । ती इजलासमा सुनुवाइका लागि भनी १ सय ६० वटा मुद्दा पेशीमा चढाइएका थिए । तीमध्ये ३७ वटामा फैसला भएका छन् ।

लकडाउनको अवधिमा सर्वोच्च अदालतमा कोभिड–१९ र बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दा मात्र सुनुवाइ हुने गर्दथ्यो । सो अवधिमा एकाध इजलास मात्र गठन हुने गर्दथे । साउन १ गतेदेखि केही दिन इजलास नै गठन भएन । नयाँ आर्थिक वर्ष शुरु भएपछि मुद्दाको मिसिल मिलाउनका लागि केही दिन इजलास गठन नभएको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए ।

यही साउन ५ गतेबाट केही सीमित इजलास गठन हुन थालेका थिए । ९ गतेसम्म सीमित इजलास गठन गरिएको भए तापनि ११ गते आइतबार भने ९ वटा इजलास गठन भएका थिए । सो दिन १ सय ९ वटा मुद्दा सुनुवाइका लागि पेशीमा चढाइएको भए पनि जम्मा १६ वटा मात्र फैसला हुन पुगेका थिए । त्यसपछि सोमबार लकडाउन भन्दा अघिका दिन जस्तै गरेर मुद्दा पेशीमा चढेका थिए ।

सर्वोच्चका एक कर्मचारीले भने– ‘सोमबार लकडाउनपछि सबैभन्दा बढी मुद्दाको पेशी चढेको दिन भयो । यस दिन १ सय ६० वटा मुद्दा पेशीमा चढेका थिए । लकडाउन अघियस्तै संख्यामा मुद्दा पेशीमा चढ्दथे ।’ सर्वोच्चमा भने केही भीडभाड बढ्न थालेको ती कर्मचारीले बताए ।

सप्तरीमा एक न्यायाधीशलाई कोरोना भाइरस देखिएपछि न्यायालयमा सजगता अपनाउनुपर्ने आवश्यक्ता भएको एक कानुन व्यवसायीहरुले बताए । नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र अधिकारीले अदालत जान पनि अव डराउनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । कोरोना भाइरसको डर झन् बढ्दै गएको बताउँदै सर्वोच्चका कर्मचारीहरुले सुरक्षात्मक उपाय नअपनाए डरलाग्दो अवस्था आउन सक्ने उल्लेख गरेका छन् ।