ललितपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

ललितपुरमा सोमबार थपिएका ५ कोरोना संक्रमितमध्ये ४ जना यसअघि नै कोरोना संक्रमण देखिएका परिवारकै सदस्य रहेको खुलेको छ । केहीदिन अघि वीरगन्जबाट आएकी ६७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परीक्षणमा सोही परिवारका थप ५ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जानकारी दिएको छ।

ती महिलाका ४४ वर्षीय छोरामा कोरोना संक्रमण रहेको साउन १० गते नै पुष्टि भएको थियो । सोमबार आएको रिपोर्टमा परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण देखिएको महाशाखा स्रोतले जनाएको छ।

सोमबार कोरोना पुष्टि हुने यसै परिवार अन्य सदस्यमा ३९ वर्षीया महिला, १० वर्षीया बालिका, ५ वर्षीय बालक र २ वर्षीय बालक रहेका छन् । कोरोना संक्रमण देखिएकी ३९ वर्षीया महिला पाठेघरको क्यान्सरबाट समेत पीडित रहेको महाशाखा स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार १० वर्षीया बालिका र ५ वर्षीय बालक पनि एकसाताअघि वीरगन्जबाटै आएको खुलेको छ । स्थायी ठेगाना पनि वीरगन्ज नै रहेका उनीहरु सुरुमा कोरोना संक्रमण देखिएकी वृद्धासँगै आएको देखिएको छ। ३९ वर्षीया महिला र २ वर्षीया बालिकाको भने ट्राभल हिस्ट्री छैन । कसैमा पनि हालसम्म कोरोनाको लक्षण भने नदेखिएको जनाइएको छ।

उसअघि कोरोना पुष्टि भएका आमा छोरा दुवैलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । आज कोरोना देखिएका परिवारका अन्य सदस्यलाई पनि पाटन अस्पताल ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

आज थपिएका ललितपुरका एक कोरोना संक्रमित भने १ महिना अघि दुबईबाट फर्किएका २९ वर्षीय पुरुष रहेका छन् । गोदावरी नगरपालिका–११ चापागाउँका उनी चापागाउँस्थित साग्रिला क्वारेन्टाइनमा बसिरहेका थिए । उनलाई टेकु अस्पताल लैजाने तयारी भएको छ।