एसईईको नतिजा एक साताभित्र

रुजु गर्ने काम अन्तिम चरणमा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले यो वर्षको एसईईको परीक्षाफल एक साताभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले सबै जिल्लाको प्राप्ताङक आइपुगेको कारण एक साताभित्र परीक्षाफल प्रकाशित गरिसक्ने जानकारी दिनुभयो ।

उहाले शिक्षा विकास समन्वय इकाइले पठाएको अंक रुजु गर्ने काम भैरहेको र रुजु लगत्तै भोलिबाट नम्बर इन्ट्री गरी एकसाताभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताउनुभयो । पनिकामा आज ४ जिल्लाको प्राप्ताङक आएसंगै सबै जिल्लाको विद्यार्थीको विवरण आएको हो ।

बारा, पर्सा , रौतहट र तनहुको प्राप्ताङक आज आएको थियो । पनिकाले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेकोमा बाढी, पहिरोको कारण करिक ३० जिल्लाको प्राप्ताङक ढिलो आएको थियो । सबै जिल्लाका प्राप्ताङक आएपछि पनिकालाई एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने आशा पलाएको हो ।

नियन्त्रक खकुरेलले अबको एक साताभित्र परीक्षाफल प्रकाशित गर्नेगरी तयारी थालेको जानकारी दिनुभयो । पनिकाले २३ समुहको सहयोगमा रुजु गर्ने काम शुरु गरेको छ । कोभिड–१९ को कारण बिसं २०७६ सालको एसईई परीक्षा विद्यालयबाटै लिने निर्णय भएपछि पनिकालाई उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेकारी कम भएको छ ।

विद्यालयले इकाइमा नम्बर पठाउने, र इकाइले प्रमाणित गरी पनिकामा नम्बर पठाउने व्यवस्था छ । पनिकाले अंकलाई अक्षराङक प्रणालीमा परिवर्तन गरी ग्रेडको आधारमा परीक्षाफल प्रकाशित गर्नेछ ।