वडाअध्यक्ष महर्जनको न्यायका लागि प्रदर्शन

470
Shares

सुनील महर्जन, ललितपुर ।

ललितपुर महानगरपालिका– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनलाई छिटो भन्दा छिटो न्याय दिलाउन माग गर्दै कर्मचारी संगठनहरुले गरेको प्रदर्शनका कारण सोमबार ललितपुर महानगरपालिका र अन्तर्र्गतका सबै वडाहरुको काम ठप्पप्रायः रहयो ।

वडाले प्रक्रिया पु¥याएर कानून बमोजिम गरिएको नाता प्रमाणितलाई मेडिकल माफियाको गिरोहले कीर्ते गरेर वडाअध्यक्ष महर्जनलाई फसाइएको भन्दै कर्मचारीहरुले महानगरपालिकाको प्राङगणमा प्रदर्शन गरेका हुन् ।

स्थानीय तह कर्मचारी नेपालको महानगरपालिकाको ईकाई, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय तहको महानगरपालिका ईकाईको आहवानमा भएको सो प्रदर्शनमा उनीहरुले ‘मेडिकल माफियालाई कारवाही गर, निर्दोष जनप्रतिनिधि रिहा गर, स्थानीय जनप्रतिनिधिहरु एक होऔं, सम्पूर्ण कर्मचारीहरु एक होऔं र षडयन्त्रकारीलाई कारवाही गर’ भन्दै नाराबाजी गरेका थिए । कर्मचारी सम्बद्ध संगठनहरुको प्रदर्शनमा महानगरपालिकाका विभिन्न शाखा, महाशाखाका प्रमुखहरु सहित सामाजिक परिचालकहरु र वडाका वडाअध्यक्ष र वडा सदस्यहरुले पनि ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए ।

‘वडाअध्यक्ष महर्जन एक निस्वार्थ र इमान्दार जनप्रतिनिधि हुन् । वडाले बनाएको नाता प्रमाणितपत्रमा फोटो परिर्वतन गरी मानव अंड्ड बेचबिखन जस्तो जघन्य अपराधमा प्रयोग गरिएको रुपमा हामीले बुझेका छौं । यो मिर्गौला तस्करी गर्नेहरुको जालझेल हो । ’ कर्मचारी संघ महानगरपालिका इकाईका अध्यक्ष बाबुराजा महर्जनले भन्नुभयो‘ यसले निष्पक्ष रुपमा छानबीन गरी चाँडो चाँडो भन्दा न्याय दिलाउनुपर्ने हाम्रो माग रहेको छ ।’

वडाले बनाएको नाता प्रमाणित पत्रलाई पनि आधार बनाएर मिर्गौला तस्करी गरिएको र त्यसमा संलग्नताको आरोपमा वडाअध्यक्ष महर्जनलाई असार २६ गते शनिबार नेपाल प्रहरीको मानव तस्कर ब्युरोले नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको क्रममा वडाअध्यक्ष महर्जनलाई लामो समय हिरासतमा रखिएको भन्दै कर्मचारी संगठन ललितपुर इकाईका अध्यक्ष रामकुमार ढकालले यस कार्यले प्राकृतिक न्यायको सिद्धान्तको उल्लंघन गरेको धारणा राख्नुभयो ।

लामो समयसम्म जनप्रतिनिधिलाई हिरासतमा राख्नु भनेको स्थानीय तहबाट प्रवाह हुने सेवा प्रवाह र विकास निर्माणको कार्य नै अवरुद्ध भएको पनि कर्मचारीहरुले नीष्कर्ष निकालेको छ । कर्मचारी संगठनहरुले महर्जनको अनुसन्धान कार्यमा र न्यायिक प्रक्रिया अपेक्षाकृत ढिलाई भएको भन्दै दिनभर कलम बन्द गरेका थिए । कर्मचारीहरुले कलम बन्द गरेपछि महानगरपालिकाको सम्पूर्ण कामकारवाही प्रभावित रहयो ।

महर्जनलाई षडयन्त्रकारीले आफ्नो चंगुलमा फसाएको आम जनमानसको बुझाई रहेको छ । स्थानीय तह सरकार सञ्चालन गर्ने ऐन २०७४ बमोजिम नाता प्रमाणित गर्नुपर्ने सिफारिश वडालाई प्रत्यायोजन गरिएको छ । आफ्नो कर्तव्य पालनामा भएका कामलाई फौजदारी मुद्दा अन्तर्गत हिरासतमा राखिएको भन्दै जनताको आक्रोश दिनप्रतिदिन बढिरहेको छ । महर्जनलाई लगाइएको आरोपको निष्पक्ष र छिटो भन्दा छिटो छानबीन गर्न माग राख्दै विभिन्न तहतप्काले प्रेस विज्ञप्ती प्रकाशित गर्ने र लगातार प्रदर्शन गर्दै आउनुलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट अलग रहेर हेर्ने हो भने यही भावनाको रुपमा लिन सकिने ललितपुर महानगरपालिका २१ का वडाअध्यक्ष रवीन्द्र महर्जनको भनाई रहेको छ ।

यस अघि पुल्चोकमा संचालित पूच्वः बचत तथा ऋण सहकारी संस्था र पूच्व माइला सनाः गुठीले मिर्गौला प्रकरणमा वडाध्यक्षलाई फसाइएको दावी गर्दै निष्पक्ष छानबीनको माग गर्दै आवाज उठाएका आएका छन् ।वडाअध्यक्ष महर्जनलाई जबरजस्ती फसाइएको भन्दै बिना शर्त रिहाको समेत टोलवासीले माग गरेका छन् ।

गुठीका अध्यक्ष बलबहादुर महर्जनले जारी गर्नुृभएको विज्ञप्तीमा वडाअध्यक्ष महर्जनले गलत व्यक्तिहरुले षडयन्त्रपूर्वक जालझेल गरेर गैरकानूनी रुपमा फसाउन खोजेको भनिएको छ ।निष्पक्ष छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न पनि विज्ञप्तीमा भनिएको छ ।महर्जनको पक्राउमा षडयन्त्रकारीहरुको हात भएको जनाउँदै विभिन्न संघसंस्थाले सुक्ष्म अनुसन्धान आवश्यक रहेको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छन् ।

त्यसैगरी पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्य र पुल्चोक स्पोर्टस् क्लबका अध्यक्ष रविन्द्र जोशीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेर इमान्दार र पारदर्शीपूर्ण तवरले समाजमा सदा समर्पित व्यक्तित्वलाई यसरी फसाइएको घटनाबारे स्तब्ध भएको जनाएको छ ।इमान्दार र निष्पक्ष जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुनबाट वञ्चित गराई राज्यले अनुसन्धान अघि बढाएकोमा हाम्रो आपत्ति रहेको छ । यसकारण घटनाको निष्पक्ष छानबीन होस् ।

यसैगरी ज्यापू समाज ललितपुरले वडाअध्यक्ष महर्जनलाई अविलम्ब प्रहरी हिरासतबाट मुक्त गर्न माग गरेका छ । समाजका अध्यक्ष चन्द्र महर्जनले हस्ताक्षर गरी प्रकाशित विज्ञप्तीमा आफ्नो कर्तव्य पालनाका क्रममा भएका कामलाई लिएर गिरफ्तारी गरिनु स्थानीय सरकार सञ्चालन ऐन २०७४को प्रतिकूल रहेको भनिएको छ । महानगरपालिकाको कार्यपालिकाको तर्फबाट यस अघि विज्ञप्ती प्रकाशित गरिसकेको छ ।

महर्जनले हालसम्म प्रहरी, सरकारी वकिललाई आफ्नो बयान दिईसक्नु भएको  छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पनि वडाअध्यक्ष महर्जनले खराब नियतले काम गरेको कतै पनि देखिएको छैन ।