रसियाको महोत्सवमा नेपालको सहायक श्रीमान्

0
Shares

लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान् (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ।

आगामी अगस्ट २७ देखि २९ तारिखसम्म रसियामा हुने अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट सहायक श्रीमान् छनोट भएको हो। गणेश पाण्डेद्वारा निर्देशित सहायक श्रीमान्ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो।

नेपालबाहिरको महोत्सवमा सहायक श्रीमान् छनोट भएको यो पहिलो हो। निर्देशक पाण्डेका अनुसार, कोरोनाका कारण विभिन्न देशका फिल्म महोत्सव स्थगित भएकाले सहायक श्रीमान्को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनोठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइले एउटै महिला बिहे गर्ने चलन छ। उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक–आपसमा बाँड्छन्। जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो। एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ।

भाग्यले बा“चेकाहरू नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गरेका हुन्। यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन्। यसै गरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन्।