प्रचण्डले माधव नेपाललाई च्याप्दा ओलीसँगको सहमति भाँडियो


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको पदिय लडाइँको कारण एक महिनादेखि आन्तरिक विवादमा रुमलिदै आएको छ । कोरोना महामारी र अविरल बर्षासँग आएको बाढी पहिरोलाई नै ओझेलमा पार्ने गरी नेकपाभित्र एक महिना अघिबाट सुरु भएको आन्तरिक विवाद अझै मिल्न सकेको छैन् ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक सहमति भएपनि उक्त सहमतिले मूर्त रुप लिन सकेको छैन् ।प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग राख्नुभएका प्रचण्डले आफूले कार्यकारी अध्यक्षको जिम्मेवारी पाए प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिन सहमत हुनुभएको बताइएको छ ।

वैचारिक र राजनीतिक विवाद नभई पदिय विवाद भएको कारण विवाद समाधानको लागि आगामी मंसिरमा पार्टीको महाधिवेशन मार्फत आफू पार्टी अध्यक्ष छोडन तयार रहेको प्रस्ताव प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राख्नुभएको छ । तर प्रचण्ड सहित वरिष्ठ नेता माधव कुमार नेपाल समुहले मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै आपत्ति जनाउदै आएका छन् ।

गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा अचानक प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिनुपर्ने माग उठेपछि सुरु भएको विवाद समाधान हुन सकेको छैन् । ओलीले दुवै पदबाट राजिनामा नदिने अडान राख्दै आउनुभएको छ ।
ओली र प्रचण्डबीच अनौपचारिक रुपमा सहमति भएपनि निर्णय प्रक्रियामा प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि सहभागी गराउने अडान राखेपछि कुरा मिल्न नसकेको बताइएको छ ।

ओलीले दुई अध्यक्षले निर्णय गरेर जानकारी गराउनु पर्ने प्रस्ताव गरेपनि पछिल्लो समयमा नेपाल पक्षसँग समिकरण बनाउनुभएका प्रचण्डले नेपालाई पनि सहभागी गराउनु पर्नेमा जोड दिएको वालुवाटार स्रोतले बताएको छ । ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा स्थायी समितिको बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।