ओलीको प्रस्तावले संकटमा प्रचण्ड


न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा पर्नुभएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजिनामा दिनुपर्ने अडान लिदै आउनुभएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल संशङकित बन्नुभएको छ । प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने विषयबाट सुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

शनिवार वालुवाटारमा बसेको सचिवालय बैठकमका महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताए पनि आइतवार भने प्रचण्डले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताउनुभएको छ । प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताउनुभएको हो ।

प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको ससझदारीको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गरेका थिए ।

पछिल्लो समयमा प्रचण्डलाई साथ दिदै आउनुभएका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टिकरण दिनुभएको छ । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेपछि प्रचण्डले निवासमै बोलाएर स्पष्टिकरण दिनुभएको हो । खुमलटारमा भएको भेलाले अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुने निष्कर्ष निकालेका छन् ।
त्यसैगरी आइतवारको लागि तय भएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित जानकारी दिएको छ ।