बाढीपहिरोले १० करोडको बाली क्षति


मिला दरै, तनहुँ

एक साता अघि अविरल वर्षाले आएको बाढी र पहिरोले गर्दा तनहुँका कृषकले अन्नबालीमा ठुलो नोक्सान व्यहोर्नु परेको छ । असारको अन्तिमतिर बाढी पहिरोले गर्दा धान रोपिसकेको खेतमा असर गर्दा किसानहरु मर्कामा परेका छन् ।

जिल्लामा १२ हजार हेक्टरमा धान खेती गरिन्छ । तीमध्ये ६०० हेक्टर खेतीयोग्य भूमिमा पूर्ण र २०० हेक्टर जमिनमा आंशिक पुगेको कृषि ज्ञान केन्द्रले तनहुँले जनाएको छ । रोपिएको धानबालीमा सात करोडको पूर्ण, एक करोडको आंशिक र मकै, कोदो लगायतको बालीमा दुई करोडको (आंशिक) गरी १० करोड रुपैयाँ बराबरको क्षति भएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

गत आइतबार राती र सोमबार दिनभर परेकोले वर्षाले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाको खोले खेतहरुमा धेरै क्षति पु¥याएको उहाँले बताउनुभयो । वडा कार्यालयले क्षति पु¥याएको कृषकको विवरण संकलन गरी केन्द्र तथा स्थानीय तहका प्राविधिकले मूल्यांकन गरिएको केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले बताउनुभयो । स्थानीय तह र गण्डकी प्रदेश सरकारले मापदण्ड बनाएर राहत दिने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

व्यास नगरपालिका–११ पोल्याङका कृषक राजेन्द्र पौडेलले बुल्दीखोलामा आएको बाढीले एक हजार रोपनी भन्दा बढी खेतमा क्षति पु¥याएको बताउनुभयो । साथै पूर्ण क्षती भएको खेतमा पुनः धान रोप्नको लागि बिउ राख्न धानको अभाव भएको उहाँको भनाई छ ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बाढीले धेरै क्षति पु¥याएको र प्राविधिकबाट नोक्सानको तथ्याङ्क संकलनको काम र क्षतीको मूल्यांकन पछि राहतको व्यवस्थापन गर्ने योजनामा रहेको बताउनुभयो । जिल्लाका धेरै ठाउँका खेत बाढी पहिरोपछि बगर बन्दा किसान चिन्तित बनेका छन् ।