प्रहरीलाई वोली र व्यवहारमा शिष्टता कायम गर्न महानिरीक्षक थापाको निर्देशन


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजको शुक्रबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सो क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गर्नुभयो ।

साथै उहाँले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिनुभयो ।
निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति वोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा देखिएका समस्याको समाधानकालागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीहरुले आफूमा भएका क्षमतालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरुले अस्पतालमा आउने विरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरसको विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताउनुभयो ।