सरकार कि अहिल्यै मारिदेऊ कि त बस्ती सारिदेऊ

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक

बस्तीको दुवैतिर अत्यासलाग्दो पहिरो, बस्तीको शिरमाथि ‘सिरानमाथि झुन्डिएको जाँतो’ झैं गरी बसेको छ बडेमानको ढुंगा । विकट गाउँ जुगल गाउँपालिका–२ नाम्फाका स्थानीय भगवान् भरोसामै बसिरहेका छन् ।
‘अत्यास लाग्ने गरी पहिरो खसेको छ, गाउँमाथि बडेमानको ढुंगा खस्न ठिक्क परेको बसेको छ’, नाम्फा गाउँका हरिशरण सिलवाल भन्दै थिए– ‘गाउँ नै धरापमा प¥यो, ज्यान जोखिममा भो ।’

भूकम्पमा ढलेको घर जसोतसो ठडियो । दुःखले बनाएको बास नै पहिरोले बगाउन लागेपछि ७० वर्षीया होमकुमारी सिलवाल डिलमा बसेर पहिरो नियालिरहनुभएको थियो । ‘कति बेला बगाउँछ ठेगान छैन, कति बेला मरिन्छ थाहा छैन ।’ –होमकुमारीले त्रासमिश्रित गुनासो पोख्नुभयो ।

२६ असारको बिहानीपख पहिरो खसेर नाम्फा भेगको झन्डै २ सय रोपनी खेतीयोग्य जग्गा खण्डहर बनाइदियो । घर भित्र्याउनुपर्ने मकैबाली माटोमै मिलेको छ । जाने कतै ठाउँ छैन, पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि डेढ सय घरका नाम्फाली ‘मृत्यु कुरेरै’ बसिरहेका छन् ।

‘सरकार !, मृत्यु कुरेर कतिञ्जेल बसौं, कि त अहिल्यै मारिदेऊ कि त बस्ती सारिदेऊ ।’ –स्थानीय शिक्षक शिव सिलवाल भन्नुहुन्छ । जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भन्दै तत्काल बस्ती सार्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोपावरले बस्तीमुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तीमुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिएका थिए । बस्तीमुनि सुरुङ नखन्न अनुरोधसहित निवेदन दिए पनि आफूहरुको आवाज सुनुवाइ नभएको स्थानीय पेसलाल तामाङले बताउनुभयो ।

‘बस्तीमुनि सयौंचोटि बम पड्काएको छ, बम पड्काउँदा भुइँचालो आएजस्तो हुन्थ्यो’, पेसलाल भन्नुहुन्छ– ‘घरबास उठ्ने भयो, ज्यान जोखिममा पर्ने भयो भनेर सीडीओलाई निवेदन दियौं तर हाम्रा कुरा कसैले सुनेनन् ।’ राजनीतिक दलका स्थानीय अगुवाले हाइड्रोपावरसँग मिलेर माथि बस्ती नै छैन भनी बस्तीमुनि सुरुङ खन्न लगाएको उहाँ बताउनुहुन्छ ।

अपर बलेफी हाइड्रोकै कारण नाम्फा गाउँ पहिरोको पीडामा परेको भन्दै हाइड्रोपावर कम्पनीले सिंगो गाउँको जिम्मा लिनुपर्ने स्थानीय बताउँछन् । ‘बस्तीमुनि सुरुङ किन खनियो, हाइड्रोपावरका लागि हामी नाम्फाली मरिदिनुपर्ने’, स्थानीय भरत थापा भन्नुहुन्छ– ‘अब हामीलाई कहाँ लाने हो हाइड्रोले जिम्मा लिनुपर्छ ।’

यसैबीच सिंगो बस्ती पहिरोको उच्च जोखिममा परेपछि तत्कालीन अवस्थामा जीउज्यानको सुरक्षा नै प्रमुख भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभएको छ । उहाँले जोखिममा रहेका घरपरिवारलाई तत्कालका लागि टेन्टको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

हाइड्रोपावरले सुरुङ खनेका कारण बस्ती नै जोखिममा परेका बारे तत्काल भू–गर्भविद् झिकाएर अध्ययन गरिने उहाँले बताउनुभयो । नाम्फाबासीको दीर्घकालीन व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक कदम चाल्ने उहाँको भनाइ छ । ‘अहिले उहाँहरुलाई बचाउनु नै पहिलो प्राथमिकता हो’, उहाँले भन्नुभयो– ‘भू–गर्भविद् झिकाएर अध्ययन गर्छौं र नाम्फाबासीको दीर्घकालीन रूपमा व्यवस्थापन हुने गरी काम गर्छौं ।’