मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता


न्युज अफ नेपाल, हेटौडा ।

बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता भएको छ । प्रदेश सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।

बिहीबारबाट नयाँ आर्थिक वर्ष ०७७र७८ सुरु भएसँगै यस आर्थिक बर्षमा तय गरिएका नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले तर्जुमा गरिएको नीति तथा कार्यक्रम, योजना र बजेट कार्यान्वयनसँगै तोकिएको समयभित्र तोकिएका कामहरू तीव्रताका साथ गर्ने गरी कार्य सम्पादन सम्झौता गरिएको उहाँले बताउनुभयो ।

सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गर्दै आदान–प्रदान गर्नुभएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नीति, कार्यक्रम र गर्ने कामको प्रतिवद्धताका लागि संझौता गरिएको वताउनुभएको छ । यो करार संझौता संघीय सरकारले पहिले देखिनै गरेको भएपनि प्रदेश सरकारले पहिलो पटक गरेको वताउँदै उहाँले संझौताले कामप्रति प्रेरित गर्न थप सहज प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।