एसईईको नतिजा साउन १५ गतेभित्रै आउने


न्युज अफ नेपाल,  काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ भित्र प्रकाशन गर्ने भएको छ । आन्तिक रूपमा विद्यार्थीहरूले प्राप्त गरेको नम्बर इन्ट्री गरिसकेको बोर्ड जनाएको छ । करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका छन् ।

‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ’, उनले भने, ३० प्रतिशतको इन्ट्री गर्न बाँकी छ । बाँकीको केही दिनमा सकिन्छ ।’ जिल्ला–जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिले र नमिलेको रुजु गरिनेछ ।

सबै जिल्लाबाट हार्ड कपि आएपछि नतिजा सार्वजनिक गर्ने नियन्त्रक खकुरेलले बताए । ‘साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ । तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । वर्षाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छ’, उनले भने ।

देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसको महामारीका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । महामारीका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको बताइएको छ ।