पहिलो पटक प्रधानसेनापतिले प्रहरी महानिरीक्षकलाई कार्यालयमा पुगेर दिए शुभकामना


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर बधाइ एवम् शुभकामना दिनुभएको छ । पहिलो पटक प्रधानसेनापतिले प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय मै पुगेर बधाइ एवम् शुभकामना दिनुभएको हो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा सरकारद्वारा नियुक्ति हुनु भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधार्इ दिनुभयो । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी माहनिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘‘मोमेन्टो’ प्रदान गर्नुभएको थियो ।