प्रहरी, प्रहरी जस्तै हुनुपर्छः महानिरीक्षक थापा


न्युज अफ नेपाल, काठमाडौं ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी संगठनको हितका लागि संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ । उहाँले संगठनको श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीको सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभएको हो ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्दै महानिरीक्षक खनालले समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढन निर्देशन दिनुभयो ।

उहाँलेवर्तमान अवस्थामा नेपाल प्रहरी सामू रहेका विविध चुनौतीहरु समाधानका लागि सबै प्रहरी कर्मचारीहरुलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो । आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङकन ऐन कानूनमा निर्दिष्ट एवम् वरिष्ठता तथा तथ्याङकको आधारमा हुने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरुले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी, प्रहरी जस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्ने हुन्छ भन्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो व्यवहारलाई सुधार गर्दै संगठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै प्रहरी कर्मचारीहरुको वृत्तिविकास एवम् कल्याणकारी योजनाहरु बारेमा संगठन सदैव क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।