अब सबै जिल्लामा सार्वजनिक यातायात चल्ने


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने बताउदै काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारी एकअर्का जिल्लामा जान सक्न्ने जानकारी दिनुभयो ।

‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने। तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’ उहाँका अनुसार भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिनेछ ।

निजी सवारी साधन मोटरसाइकलसमेत जोररबिजोर प्रणालीमा चलाउन पर्नेछ । काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। सार्वजनिक सवारी साधनले तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको छ । सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने सरकारले मापदण्ड बनाएको छ ।