पहिरोले पार्वतीको गास, बास, कपास सबै खोस्यो

0
Shares

न्युज अफ नेपाल,दार्चुला ।

महाकाली नगरपालिका‐१ श्रीबगर स्थित सडक किनारमा पसल थापेर बसेकी पार्बती बमको घरमा पहिरो खस्दा उनको सर्वस्व नै गुमेको छ । सम्पत्तीको नाममा एउटा घरमात्रै रहेको पारवतीको घरमाथी पहिरो खसेपछि अहिले उनी सहित परिवारको विचल्ली भएको छ ।
घरमै पसल थापेर दैनिक गुजरा चलाइरहेकी पारवतीको घरमा पहिरो खस्दा उनको विचल्ली मात्रै भएको छैन्, गास, बास र कपास समेत खोसिएको छ ।

पहिरोले उनको गास, बास, कपास खोसि दिएपछि के खाने र के लाउने भन्ने पिरले पारवती बेला‐बेला झस्किएर बेहोस हुँदै थिइन । ४ जहानको परिवार रहेको पारवतीको गुजरा चलाउने ठाउँ नै पहिरोले लगेपछि अहिले उनि सबै संग हारगुहार गरिरहेकी छन् । ३ जना बालबच्चाको पालन पोषण गर्दै पसल समेत संचालन गरेकी पारवतीका श्रीमान विगत १ वर्ष देखी भारतको दिल्लीमा रहदै आएका छन् ।

रोजगारीको शिलशिलामा भारत गएका उनका श्रीमान कोरोना भाईरसका कारण लकडाउन भएपछि घर आउन नपाइ उतै अड्किएका छन् । घरमाथी खसेको पहिरोले पारवतीको दुई तले पक्की घर र पसल पुर्णरुपमा क्षति गरेको छ । ठुल‐ठुला ढुंगा सहित खसेको पहिरो पारवतीको घरमाथी परेपछि पसल भित्र रहेको उनको सबै सरसमान, घरभित्र भएको अलिकति सम्पत्ती, खाद्यान्न, लुगाकपडा सबै नष्ट भएको प्रहरीले मुचुल्का तयार पारेको छ ।

बुधबार विहान करिव ८ बजे तिर खसेको पहिरोले क्षणभरमै पारवतीका सबै सपना चक्नाचुर बनाइदिएको छ ।पारवतीको तत्कालको समस्या टार्न महाकाली नगरपालिका अन्र्तगतको विपद व्यवस्थापन शाखाले राहत स्वरुप खाद्यान्न र टेन्ट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले घरमाथीको अलि अलि पहिरो हटाइ क्षति नभएको सरसमान लगायत अन्य सामाग्री निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।