तीन करोड खर्च गरेर भारतले बनाइदियो बिद्यालय

0
Shares

न्युज अफ नेपाल,मुगु ।

भारतद्वारा महादेव मस्त चतुर्देव क्याम्पस, रातापानी, मुगुको प्रशासनिक तथा शैक्षिक भवन निर्माण नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत निर्माण भएको छ । भारत सरकारको ३ करोड ५१ लाख लागतमा निर्माण गरिएको मुगु जिल्लाको रातापानीमा अवस्थित महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले भिडियो कन्फरेन्स मार्फत गर्नु भएको थियो ।

सन् २००७ मा स्थापना भएको उक्त क्याम्पस सामुदायिक क्याम्पस हो । विश्वविद्यालय अनुदान आयोगबाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ ।

क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्दै आएको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत उक्त क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको छ ।