ग्रामीण अस्पताललाई मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण


न्युज अफ नेपाल, रसुवा ।

एसिया अनलुस नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जिवजिवे ग्रामीण अस्पतालाई १९ लाख रुपैयाँ बरावरको मेडिकल तथा सर्जिकल सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा संस्थाले आइसोलेसनका लागि आवश्यक पर्ने बेड तथा अक्सिजन ग्यास तथा सिलिण्डर, सेनिटाइजर, एन– ९५ माक्स, सर्जिकल माक्स, एप्रोन, ग्लोभ्स्, बुट लगायतका सामग्री एक कार्यक्रमका बीच एसिया अनलुसका कार्यक्रम निर्देशक नबराज आचार्यले एक कार्यक्रमकाबीच कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

संस्थाले प्रदान गरेको सामग्रीले स्वास्थ्य संस्थाका लागि सेवा प्रबाहमा निकै सहज हुने अस्पतालका मेडिकल अधिकृत डा. पंकज लुइटेलले बताउनुभयो । ग्रामीण अस्पतालका डा उज्जवल पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा निर्देशक आचार्यले इटालीमा दर्ता भएको संस्थाले बर्मा, चीन, मंगोलिया र नेपालमा काम गरिरहेको बताउनुभयो ।

उहाँले संस्थाले विनाशकारी भूकम्प प्रभावित नौकुण्ड गाउँपालिकामा चारवटा भवन निर्माण गरेको र अहिले पनि कृषिमार्फत स्थानीयको जिवीकोपार्जन, शिक्षा र सरसफाइको क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय समाजवादी पार्टीका कृष्णबहादुर तामाङ, नेपाली काँग्रेसका साधुराम पौडेल, नेकपा जिल्ला सचिवालय सदस्य अर्जुनप्रसाद देवकोटा, कालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामहरि देवकोटा, गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलगायत बक्ताले कोरोना महामारीको समयमा संस्थाले प्रदान गरेको सहयोग सामग्री कोरोना रोकथाम तथा नियन्त्रण पछिपनि काम लग्ने भएकोले प्रभावकारी भएकोलेले संस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, सामाजिक संस्थाका प्रतिनिधी सहभागी थिए । त्यसैबीच कालिका गाउँपालिकाको जिवजिवे र इटपारेमा माक्स तयार गर्ने मेसिन पनि हस्तान्तरण भएको छ ।

स्थानीयले उत्पादन गरेर माक्सको आपुर्ति गराउने उद्देश्यले संस्थाले २ ठाउँमा माक्स तयार गर्ने मेसिन प्रदान गरेको जनाएको छ । कालिका गाउँपालिका–३ इटपारेमा माक्स बनाउने सिलाइ मेसिन हस्तान्तरण कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले सरकार एक्लैले सवै काम पुरा गर्न नसक्ने हुनाले विकासमा हातेमालो गर्न बिभिन्न सामाजिक संघ संस्थाहरुसँग विपदमा समन्वय गरेर अघि बढ्ने बताउँनुभयो । कार्यक्रममा वडा अध्यक्ष पुष्पराज न्यौपाने लगायत स्थानीय सहभागी थिए ।