सरिता गिरीको सांसद पद गयो


काठमाडौं, (नेस)

समाजवादी पार्टीले सांसदसमेत रहेकी सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीले साधारण सदस्यसमेत नरहने गरी गिरीलाई कारबाही गरेपछि गिरी सांसद पदबाट पदमुक्त हुनुभएको छ ।

सो पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको छानविन समितिले पार्टी नेतृ गिरीलाई कारबाही गर्न सिफारिस गरेपछि पार्टीले कारबाही गरेको हो ।

नेतृ गिरीले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेपछि सो भूभाग भारतकै भएको भन्दै अभिव्यक्ति दिएपछि उहाँ विवादमा पर्नुभएको थियो । सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उहाँले मतदान नै बहिष्कार गर्नुभएको थियो ।