ओली–प्रचण्ड वान टु वान वार्ताः अझै फेला परेन मिलनविन्दु


न्युज अफ नेपाल, काठमाडौं ।
दुई पटकको सामुहिक वार्तामा कुरा मिल्न नसकेपछि नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता माफर्त सहमति खोज्न लागेका छन् । प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने पक्षमा पार्टीभित्रकै शीर्ष नेताहरु खरो रुपमा उत्रिएपछि नेकपा विभाजनको संघारमा पुगेको बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूले दुवै पदबाट राजिनामा नदिने अडान लिएपछि राजिनामाको विषय पार्टीभित्र प्रतिष्ठाको विषय बन्न पुगेको छ । पार्टी विभाजनतर्फ जान सक्ने दुवै अध्यक्षले संकेत गरिसकेका छन् ।

तर पनि दुई अध्यक्षबीच सहमति जुटाउन दुई पटक सामुहिक रुपमा वार्ता भएपनि कुनै ठोस सहमति तयार गर्न सकेको छैन् । पार्टी विभाजन हुन दिन नहुने नेता कार्यकर्ताको दबाबकोबीच अध्यक्षद्धय ओली आज वान टु वान वार्ता भएको हो ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच पार्टी एकता बचाउन गम्भीरतापूर्वक कुराकानी सुरु भएको न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।
राजिनामा प्रकरणपछि दुवै अध्यक्षमा देखिएको अविश्वासको कारण अझै पनि सहमतिको विन्दु फेला पर्न नसकेको बताइएको छ । प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने अडान राख्दै आउनुभएको छ भने प्रधानमन्त्री ओलीले दुवै पदबाट आफूले राजिनामा नदिने अडान लिनुभएको कारण सहमति जुटन सकेको छैन् ।

राजिनामाको विषयले नेकपाभित्र थप संकट सृजना गरेको छ । सापकोटाका अनुसार भोली पुनः दुई अध्यक्षबीच वान टु वान वार्ता हुनेछ ।