मेलम्चीमा माछा मार्न र पौडी खेल्न नजान उर्दी


न्युज अफ नेपाल, काठमाडौं ।
सिन्धुपाल्चोकको मेलम्ची खोलामा माछा मार्न र पौडी खेल्न नजान उर्दी जारी गरेको छ । सुरुङको परिक्षण गरिरहेकोले खोलाको तल्लो तटीय क्षेत्रमा बहाब बढ्न सक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले सोमबार मेलम्ची बासीका लागि यस्तो उर्दी जारी गरेको हो ।

आयोजनाले आइतबारदेखि अम्बाथान खण्डको ८ सय मिटर सुरुङखण्डमा पानी हालेर परीक्षण गरिरहेको छ । उक्त पानी खोलामै फर्काउने भएकोले तल्लो तटीय क्षेत्रमा बहाब बढ्न सक्ने र क्षती हुन सक्ने भन्दै सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

आयोजनाको केन्द्रीय कार्यालयले सूचना निकालेर नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।