पहिरोबाट चार महिने बालकको ज्यान गयाे


डोटी, (नेस)

डोटी जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पूर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर चार महिने बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरोमा पुरिएर ज्यान गुमाउनेमा पूर्वीचौकी गाउँपालिका–४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईका चार महिने छोरा छत्र दमाई रहेका छन् ।

दुई दिनदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर निज बालकको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी भक्त दमाई घाइते भएको र उहाँको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका नागरिकको जनजीवन निकै प्रभावित बन्दै गएको छ । लगातारको वर्षात्का काराण जिल्लाका ग्रामीण सडकहरू पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।

वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेतबारी सबै बगाएको छ ।

बाढीले गरेको क्षतिको विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

लगातारको वर्षात्ले डोटीसहित यहाँका अन्य जिल्लामा समेत क्षति पु¥याएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार शुक्रबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी बझाङको केदारस्यु गाउँपालिका–८ स्थित मल्लेस गाउँका १७ वटा घर बगाउनुका साथै ७ जनाको मृत्यु भएको छ ।