भिक्षु ज्ञाणपूर्णिकको दाह संस्कार


काठमाडौं, (नेस)

स्वर्गीय संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको आइतबार शंखमूल घाटमा बौद्ध परम्पराअनुसार दाहसंस्कार भएको छ ।

कार्यवाहक संघनायक भिक्षु बोधिसेन महास्थविर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर र भिक्षुणीको तर्फबाट भिक्षुणी ञाणवतीले स्वर्गीय भिक्षुको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, बौद्ध दर्शन प्रवद्र्धन समितिका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि विहारमा पुग्नुभएको थियो ।

त्यस्तै, भिक्षुको निधनले बुद्ध धर्म र नेपालको एक बौद्धिक र आध्यात्मिक व्यक्तित्व गुमाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले शोक वक्क्तव्य जारी गर्नुभएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै म्यानमार, थाईल्यान्ड, श्रीलंका सरकार तथा विभिन्न संघ–संस्थाले शोक वक्तव्य पठाएको स्वर्गीय भिक्षुका शिष्य भिक्षु निग्रोधले जानकारी दिनुभयो ।

उहाँ सन् २००१ मा म्यानमार सरकारबाट अग्गमहासद्धम्मजोतिकधज र सन् २०१३ मा अग्गमहापण्डित, थाइल्यान्डको महामकुट विश्वविद्यालयबाट सन् २०१३ तथा महाचुलालंकर्णराज विद्यालय युनिभर्सिटीबाट सन् २०१६ मा मानार्थ विद्यावारिधि पदबाट विभूषित हुनुभएको थियो ।

भिक्षुको ८१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।