हत्याको आरोपमा किशोरी पक्राउ


डोटी, (नेस)

डोटीमा अबोध शिशुको हत्या गरेको आशंकामा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशस्थानमा सिलाइकटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित महिला सिर्जना थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो ।

यही असार १५ गते जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रनजिक रहेको सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधी हत्या गरेको एक शिशुको शव भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रमेश शाहीका अनुसार साल–नाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको थियो । शव भेटिएसँगै प्रहरी टोलीले हत्या गरेर फालेको आशंकामा निज थापालाई मंगलबार राति उहाँकै सिलाइ सेन्टरबाट आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो ।

बेवारिसे अवस्थामा भेटिएको उक्त शिसुको शव पोस्टमार्टमका लागि अहिलेसम्म जिल्ला अस्पताल डोटीमै राखिएको छ ।