ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिदै


काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोडन माग गरेपछि प्रधानमन्त्री ओलीले राजिनामा गर्ला कि नगर्लान भन्ने चासो विषय बन्न पुगेको छ ।
बुधवार बसेको जारी स्यायी कमिटी बैठकमा पाँच जना नेताहरुले आ–आफ्नो धारणा राखेसँगै बैठक स्थगित भयो । नेकपाभित्र विशेषगरी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेनदेनमा कुरा मिल्न नसक्दा यस पटकको स्थायी कमिटी बैठकमा अचानक प्रधानमन्त्रीको राजिनामाको विषयले प्रवेश पायो ।
राजिनामा दिनुपर्ने पक्षमा स्थायी कमिटीका सदस्यहरुबीच जनमत बढेपछि प्रधानमन्त्री ओलीले बैकमा फेस गर्ने भन्दा पनि अन्य विकल्पबाट समस्याको समाधान खोजी सुरु गर्नुभएको छ । बुधवार विहान मात्र आफू निकटका स्थायी कमिटिका सदस्य र मन्त्रीहरुसँग समस्या समाधानको विकल्पको बारेमा सुझाव दिनुभएको थियो । दुवै पद छोडन दबाब दिएपनि अहिले प्रचण्ड–नेपाल समुह प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक रोज्न ओलीलाई आग्रह गरिरहेका छन् ।
पार्टी एकता भएको दुई बर्ष वितिसक्दा समेत प्रचण्ड अधिकार विहिन अध्यक्षको रुपमा रहेका छन् । पार्टी एकता हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने पूर्व सहमति ओलीले वेवास्था गरेपछि प्रचण्डले पाँच बर्ष नै सरकारको नेतृत्व ओलीलाई दिन राजि हुँदै कार्यकारी अध्यक्षको सम्पूर्ण अधिकार खोजेका थिए । तर पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अधिकार नदिएपछि स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीप्रति असन्तुष्टि जनाउदै राजिनामा माग्नुभएको थियो ।
नेकपाका स्थायी कमिटीका सदस्य मणि थापाले न्युज अफ नेपालसँग  भन्नुभयो,‘ ‘अहिले पद बाँडफाँडकै विषय प्रधान भएर आएको छ, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने गरी लेनदेन भएको अवस्थामा अहिले देखिएको विवाद सहजै समाधान हुन्छ ।’