न्युज अफ नेपाल, काठमाडौं ।
पार्टी एकीकरण भएकै दिनबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टीभित्रको कुर्सी विवाद अहिले पनि कायमै रहेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी फरक–फरक भएपछि यसअघि विवाद भएको थियो ।
वालुवाटारमा प्रचण्डलाई तह लगाउन दुई वटा कुर्सी समान रुपमा नराख्नेदेखि लिएर प्रचण्डलाई खुसी पार्नको लागि बैठकमा समान कुर्सी राख्ने श्रंखला विगत दुई बर्षदेखि चल्दै आएको छ । नेकपाभित्र विचारको लडाई भन्दा पनि मूलत कुर्सीकै विवाद चल्दै आएको छ ।
जारी स्थायी कमिटीको बैठकमा पनि कुर्सी विवाद सतहमा आएको छ । कुर्सी विवाद चर्किदै जादा सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारिएको छ भने शीर्ष नेताहरुलाई तल झारिएको । स्थायी कमिटी बैठकमा अध्यक्षद्धयदेखि वरिष्ठ नेता, सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई एउटै कुर्सी र टेबलको व्यवस्था गरिएको छ ।
बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।
बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल राखिएको थियो । बैठकमा भिम रावलले आपत्ति जनाएपछि अध्यक्षद्धय बस्ने विशेष सोफा हटाएर सबैलाई एउटै काठका कुर्सी राखिएको थियो ।
नियम अनुसार पार्टीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नु पर्ने हो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको सुविधाको लागि सरकार निवास नै पार्टी कार्यालयको रुपमा दुरुपयोग हुँदै आएको छ ।
प्रतिक्रिया