प्रधानमन्त्रीको धम्की कि त्रास ?



प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई हटाउन भारतीय चलखेल’ भएको भनेर दिनुभएको अभिव्यक्तिले अहिले राजनीतिक र कूटनीतिक वृत्त तरंगित भएको छ । संसद्‍मा झन्डै दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्री ओलीको मुखबाट निस्किएको यो बोली नौलो र निकै अस्वाभाविक रहेको छ ।

पार्टीको संसदीय दलमा उहाँको पकड राम्रै छ । नेपालको इतिहासमा अहिलेसम्मकै सर्वाधिक अनुकूलता पाएको सरकारले आफूलाई ढाल्न खोजिँदै छ भनेर अभिव्यक्ति दिनुलाई निकै शंकास्पदका रूपमा लिइएको छ । यो कत्ति पनि कूटनीतिक सफलताका लागि उपयुक्त छैन भन्ने विश्लेषण सबैतिरबाट आएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धमा नक्सा प्रकरणपछि समस्या आइरहेका बेला सीधा भारतले सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो । शक्तिशाली सरकारका प्रधानमन्त्रीले संकट आइपरेकै हो भने पनि आफैं अघिसरेर यो भाषा बोल्नु कति ठीक हो ?

आफ्नो सरकार ढाल्ल लागेको बताउँनुहुने प्रधानमन्त्री ओलीले नामै लिएर भारततिर आंैंला ठड्याए पनि पार्टीभित्रका नेताहरूको नाम भने लिनुभएको छैन । प्रधानमन्त्री ओलीलाई नजिकबाट चिन्ने र विश्लेषण गर्नेहरूले उहाँ आफ्नो स्वार्थका लागि जुनसुकै कुरा बोल्न, जे हद पनि नाघ्न तयार हुने चतुर खेलाडीका रूपमा लिन्छन् । तर, यसपटक भने उहाँको चतु¥याइँले काम गरेन ।

सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले मनपरी गरेको, पार्टीसँग समन्वय नगरेका कारणले उहाँलाई हटाउनुपर्छ भन्ने मत नेकपाभित्र चर्को रूपमा उठेको सही हो । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूह ओलीबाट अघि काम चल्दैन भन्ने निष्कर्षमा पुग्दैगरेको पनि प्रकाशमा आएको छ । यसका लागि जारी स्थायी कमिटीको बैठकमै ओलीको राजीनामा माग्नेसम्मको तयारी नेताहरूको छ ।

यही पृष्ठभूमिमा ओलीले आफूलाई हटाउने चलखेल भइरहेको अभिव्यक्ति दिनुभएको हो । अहिले कोरोना भाइरसको संकटका बेलामा जुन स्तरले काम गर्नुपर्ने हो, ओली सरकारले त्यस्तो गर्न नसकेको पक्कै हो । त्यसमा व्यापक कमजोरी देखिए । यी कमजोरीमाथि प्रश्न उठाउनेलाई ओलीले आफ्नो विरोधीका रूपमा बुझ्नुहुन्छ । त्यसैले उहाँ आफूलाई आलोचना गर्ने, कमी–कमजोरी औंल्याउने सबैलाई घेराबन्दी गरेर हटाउन खोजेका रूपमा लिने गर्नुहुन्छ ।

सरकार जसले बनाएको हो, ढाल्ने पनि उसैले हो । जब यो आफ्नो शक्तिमा बनेको हो भने आफ्नै कारणले मात्र ढल्नसक्छ । प्रधानमन्त्री ओली आफैैंले नेतृत्व गरेको व्यवस्थामा आफैैंले विश्वास नगरेको, धरमर भएको, नेतृत्व–क्षमता देखाउन नसकेको देखियो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति कूटनीति सञ्चालनमा दिग्भ्रमित र असन्तुलित भएको प्रमाण हो । विदेश नीतिमाथि अति राजनीतीकरण गरेर सरकारले आफ्नो औचित्य सावित गर्न खोज्नुभएको छ । तर, नेपालको राजनीतिक स्थायित्व चाहने कसैले पनि प्रधानमन्त्री ओलीलाई हटाउने प्रयास अहिले गर्नुहुन्न ।

हो, गत महिना जुम्ल्याहा विधेयक ल्याएको र अरूको दल फोड्ने कुप्रयास गरेका कारण उहाँलाई बिदा दिन सकिन्थ्यो, तर अब त्यो विषय पुरानो भइसक्यो, नयाँ विषय नेपालको नक्सा बनेको छ । यस मुद्दालाई साथ दिन पनि उहाँलाई पदमै रहन दिनुपर्छ । बाँकी दुई वर्षको कार्यकालका लागि उहाँलाई शुभकामना दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्