चीनसँग सीमा विवाद छैन, भारतसँग सम्पर्कमै छौः परराष्ट्रमन्त्री ज्ञवाली


न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच कुनै पनि सीमा विवाद नरहेको बताउनुभएको छ । उहाँले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताउनुभभयो ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गर्दै नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद कूटनीतिक सम्वादबाटै समाधान गर्ने पक्षमा नेपाल रहेको बताउदै संवादबाटै विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच पछिल्लो समय लिम्पयाधुरा, कालापानी र लिपुलेकमा सीमा विवाद चर्किएको छ ।

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्नुको साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधानमा समेत संशोधन समेत गरिसकेको छ । तर भारतले सीमामा रहेको विवाद समाधान गर्न अटेर गर्दै आइरहेको छ ।