बाली नष्ट गर्दै सलह

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरगढी गाउँपालिका–७ बतासे र भण्डारेमा सलह कीराले बाली नष्ट गर्न थालेको छ । शनिबार नेपाल पसेको सलहले मकवानपुरको गढी गाउँपालिका–७ लाई समस्यामा पारेको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो ।

अन्य वडामा सलहको समस्या नदेखिए पनि ७ नम्बर वडामा भने समस्यामा पार्न थालेको उहाँले बताउनुभयो । अन्य गाउँपालिकामा पनि किसानले लगाएको बाली सलहले नष्ट गर्न थालेको छ । तराईका जिल्लाबाट भित्रिएका कीराले मकवानपुरलगायत अन्य जिल्लामा बाली नष्ट गर्न थालेको छ ।

विनाशकारी सलहले मकवानपुरगढी गाउँपालिका–७ को बतासेडाँडालगायत टोलमा मकै बाली नष्ट गर्न थालेको हो । सलहले मकवानपुरको बकैया गाउँपालिकालगायत क्षेत्रमा बाली नष्ट गर्न सुरु गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । उहाँका अनुसार सलहले किसानले लगाएको मकै नष्ट गर्न सुरु गरेको छ ।

लाखौंको संख्याका आइपुगेका सलह मकै बारीसँगैं कलिला पालुवा आएका रुख तथा घाँसमा समेत फैलिएको छ । करिब २ हजार रोपनी क्षेत्रमा कीरा फैलिएको उहाँले अनुमान गर्नुभयो । मकवानपुरगढी–७ का पञ्चबहादुर स्यांतानको बारीमा पुगेपछि सलह अन्य किसानको मकै बारीमा फैलिएको थियो ।

स्थानीय टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडीरहेका छन् । धपाएर पनि साध्य नलाग्ने भन्दै स्यांतानले मकै बाली भित्र्याउन नपाइएला जस्तो भएको गुनासो गर्नुभयो । बाली भित्र्याउने बेलामा कीराले नष्ट गरेपछि स्थानीय किसान मर्कामा परेका छन् ।

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने कीराका रुपमा परिचित छ । यसले बिरुवाका पात, फलमात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने विज्ञको भनाइ छ ।