पानीको अभावले अब नहुने भो तनाव

दमाईचाघाटमा ९० हजार लिटर पानी अट्ने ट्रंयाकी बन्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयवासीको वर्षौदेखिको लक्ष्य पुरा हुन छाँटकाँट देखिएको छ ।

दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरु गरिएकोले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिन नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको वाग्मती प्रदेशका सांसद् राजेश शाक्यले  बताउनुभयो ।

सांसद् शाक्यका अनुसार चालू आर्थिक वर्षमा रिर्जभ भ्वाएर बन्ने छ । त्यसका लागि ३९ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कूल लागत मध्ये प्रदेशबाट ३५ लाख ८० हजार ६ सय ८९ रुपैयाँ व्यहोर्ने छ । बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपैयाँ जनसहभागिता मार्फत जुटाइने छ । फिल्टर प्लान्ट बनाउन प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजित गरिएको सांसद् शाक्यले जानकारी दिनुभयो । सांसद् शाक्यका अनुसार प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजित गरेको छ ।

‘यसले गर्दा आउँदो आर्थिक वर्षभित्रमै फिल्टर प्लान्ट बनाइसक्ने छौं । त्यसपछि पानीको हैरानी हल हुने छ । पानी रिजर्भ भ्वाएरमा राखेर  नजिकैको वडाहरुमा पनि क्रमशःवितरण गर्न सकिने छ । ’ सांसद् शाक्यले भन्नुभयो। सो वडासंगै १५, १८, १९ र २० वडाहरुमा खानेपानीको समस्याका कारण स्थानीयले निकै हैरानी खेप्नुपरिरहेको छ।

२०६५ सालमा तत्कालीन भौतिक आवास तथा निर्माण मन्त्री हिसिला यमीको पहलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दमाईचाघाटमा डिप बोरिङ गरेको थियो । ‘बोरिङको पानी प्राविधिक जाँच गर्दा आइरन र एमोनियाको मात्रा बढी देखियो । यसले गर्दा सो पानी स्वास्थ्यका हिसाबले पिउन योग्य भएन ।’ दमाईचाघाट उपभोक्ता समितिका अध्यक्ष मिलन शाहीले भन्नुभयो ।

बोरिङको पानीलाई पिउन बनाउन स्थानीयले त्यतिबेलादेखि फिल्टर प्लान्ट बनाउनुपर्ने माग राखेका थिए । समितिका उपाध्यक्ष तीर्थ महर्जनका अनुसार फिल्टर प्लान्ट बनाउन केयुकेएलका प्राविधिक टोलीले १ करोड २५ लाखको लागत अनुमान गरेको थियो । ‘बजेटको व्यवस्था गरिदिन केयुकेएलमा धेरै पटक डेलिगेशन गएँ । त्यति धेरै बजेट बिनियोजित गर्न नसक्ने जवाफ केयुकेएलबाट आएपछि बोरिङको पानी खाने स्थानीयको इच्छा बीचमै तुहिएको थियो । ’ समितिका उपाध्यक्ष महर्जनले भन्नुभयो ।

यसैबीच शनिबार एक समारोहकाबीच रिजर्भ भ्वाएर बनाउन शिलान्यास गरिएको छ । काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद् जीवनराम श्रेष्ठ, प्रदेश सांसद् राजेश शाक्य र काठमाडौं महानगरपालिका– १९ का वडाअध्यक्ष शशिलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । ट्रंयाकीमा ९० हजार लिटर पानी अटाउने छ । बोरिङबाट प्रति सकेन्ड १५ लिटर र दुई घण्टाभित्र ९० हजार लिटर पानी बग्ने गर्दछ । फिल्टर प्लान्ट बनेपछि करिब ५ हजार घर परिवार लाभान्वित हुने बताइएको छ ।