बैठकको जिम्मा प्रचण्डलाई लगाएर ओली आराम गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किदै जादा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवादबाट जोगिने उपायमा लाग्नुभएको छ । स्थायी समिति बैठकमा चर्को आलोचना हुन पूर्व अनुमान गरेर प्रधानमन्त्री ओलीले बैठकको जिम्मेवारी अर्का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’लाई दिएर आफू भने आराम गर्नतिर लाग्नुभएको छ ।

स्थायी समितिको बैठकमा सरकारको काम कारवाही र एमसीसीको बारेमा प्रधानमन्त्री ओलीको आलोचना हुने भएपछि बैठकमा अनुपस्थित भएर पार्टीभित्रको विवादलाई केही मत्थर पार्ने रणनीतिमा ओली लाग्नुभएको बताइएको छ ।

संसदमा तीन घण्टासम्म बोल्न सक्ने, पार्टीका नेताहरुको कुरा सुन्न नसक्ने हुन सक्दैन, एक स्थायी समिति सदस्यले भने,–आलोचनाबाट भाग्ने बैठकमा अनुपस्थित भएर हुँदैन, गल्ती गर्ने अनि आलोचनाबाट भाग्न पाइन्छ ?’

स्थायी समितिको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ । बैठकमा स्थायी समितिका सदस्यहरुले सरकारको कडा आलोचना गर्दै आफ्नो धारणा राखिरहेको बताइएको छ ।

बैठकमा सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राखिएको ती स्थायी समिति सदस्यले बताए । बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।