अमेरिका कामदार भिसा ६ महिनाका लागि स्थगित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६ महिनाका लागि ‘हाइली–स्किल वर्कर्स’ लगायतका कामदार भिसा स्थगित गरेको बीबीसीले जनाएको छ । ‘यस नयाँ नियमले कोरोना भाइरसबाट प्रभावित अमेरिकी नागरिकको रोजगारी बढाउन सघाउनेछ’ ह्वाइट हाउसको भनाइ भन्दै समाचारमा उल्लेख गरिएको छ ।

अध्यागमनमा नियन्त्रण गर्न चाहने ट्रम्पले कोरोनाको आडमा यो नीति ल्याएको भन्दै टिप्पणीकारहरुले उनको आलोचना पनि गरेका छन् । अमेरिकाको कम्प्युटरमा आधारित सूचना प्रविधिका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको ठूलो संख्या भारतीयको रहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पले भिसाको नयाँ नियम भारतका लागि अप्रिय हुनेछ भन्दै चुनावी सभालाई सम्बोधन गरेका छन् ।

‘एच–वनबी’ पनि भनिने ‘हाइली–स्किल वर्कर्स’ भिसा वार्षिक रुपमा पाउने ८५ हजार नागरिकमा करिब ७० प्रतिशत संख्या भारतीयको छ । यो गैरआवासीय भिसा हो, प्राविधिक कम्पनीहरुले ‘हाइली–स्किल वर्कर्स’ चाहियो भन्दै विदेशी नागरिकलाई आमन्त्रण गर्दछन् ।

अमेरिकामा यस प्रकारको लक्ष व्यक्ति नभेटिएकोले’ भन्ने प्रावधानका साथ लगिने यस्ता कामदारलाई ६ वर्षसम्मको भिसा प्राप्त हुने प्रावधान छ । यसबीच उनीहरुले स्थायी वासिन्दा बन्नका लागि निवेदन दिन र त्यहाँ सम्पत्ति खरिद गर्न पाउँछन् । यस प्रावधानले ठूला भारतीय प्राविधिक कम्पनी उइप्रो, इनफोसिस, टाटा कन्सल्टेन्सी सर्भिसजस्ता संस्थालाई बढी असर पर्नेछ ।

यस प्रकारको भिसा पाइसकेका व्यक्ति नयाँ नियमबाट प्रभावित हुनेछैनन्, केबल नयाँ निवेदकहरुलाई यो नियम लाग्नेछ । तर, यसबीच अमेरिका छोडेर आफ्नो देश वा अन्यत्र गएका व्यक्तिलाई यस वर्षको अन्त्यसम्म अमेरिका प्रवेश गर्न नदिइने समाचारमा जनाइएको छ ।

यसका साथै जे–वन, ए–टुबीलगायतका अल्पकालीन कामदार भिसामा पनि ट्रम्पले रोक लगाएका कारण आगामी ६ महिना कामका लागि अमेरिका प्रवेश गर्न चाहनेहरु रोकिने छन् । यस नियमबाट नेपालीहरु पनि प्रभावित भएका छन्, तर कति संख्यामा भन्ने अभिलेख भने प्राप्त भएको छैन ।