हेटौंडाका १० होटलमा क्वारेन्टिन



न्युज अफ नेपाल, हेटौंडा ।

कतारबाट स्वदेश फर्केपछि बस्ने क्वारेन्टिनबारे स्पष्ट खुलाउनुपर्ने भएको छ । स्वदेश फर्केपछि होटल क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्ने भन्नेबारे फाराम भर्दा स्पष्ट खुलाउनुपर्ने भएको हो । होटल क्वारेन्टिनमा बस्नेले होटलको विवरण दिनुपर्ने भएको छ ।
कतारबाट हेटौंडा फर्कने तयारीमा रहेका ३५ वर्षीय युवालाई नेपाली राजदुतावास दोहा, कतारले होटल क्वारेन्टिनमा बस्ने भए होटलको नाम, ठेगानासहित विवरण उपलब्ध गराउन भनेको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले विदेशबाट फर्केर स्थानीय तहको क्वारेन्टिनमा बस्नेलाई क्वारेन्टिनको व्यबस्था गर्ने जनाएको थियो । प्राप्त जानकारीअनुसार स्थानीय निकायको क्वारेन्टिनमा बस्नेलाई प्रतिदिन सरकारका तर्फबाट १ सय ७५ रुपियाँ बराबरको खानाको व्यबस्था गरिएको छ ।

हेटौंडाका विभिन्नस्तरका १० वटा होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याइने भएको छ । विदेशबाट फर्किएकाले प्रयोग गर्ने गरी शुल्क तिरेर बस्नका लागि मकवानपुर होटल एसोसिएसनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यबस्थापन गर्ने टिमलाई क्वारेन्टिनमा प्रयोग गरिने १० वटा होटलको सूची दिएको हो ।

विहान र बेलुकाको खाना, विहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यबस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिने गरी हेटौंडाका १० होटलका २ सय ५ कोठा क्वारेन्टिनमा प्रयोगमा ल्याइने भएको छ । एट्याच्ड बाथरुमसहित प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १ सय २२ र तृतीय श्रेणीका २५ कोठा क्वारेन्टिनका लागि उपलब्ध गराइने छ ।

होटलमा बस्न आउने कम्तिमा १० जनाको समूह हुनुपर्ने र सेवाग्राहीले पूर्वभुक्तानीको व्यबस्था गर्नुपर्ने मकवानपुर होटल एसोसिएसन अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो ।प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ र द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दाको एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको छ ।

एक दिन बसेबापत् तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने छ । सरकारी क्वारेन्टिनमा बस्न नचाहने र शुल्क तिरेर बस्न चाहनेका लागि होटलमा क्वारेन्टिनको व्यबस्था गरिएको छ ।

यस्तो छ दर

१. मोटल एभोकाडो, होटल सूर्यान्स (प्रतिव्यक्ति २ हजार ५ सय, दुई जनाको ३ हजार ५ सय (प्रतिदिन)

२. होटल आशीर्वाद, रोयल क्राउन होटल, मेघा होटल, तुरही होटल, होटल मयुरी, थकाली भान्छाघर, होटल वेलकम, न्यु मंगलम् होटल एण्ड लज (प्रतिव्यक्ति १ हजार ७ सय, दुई जनाको २ हजार ५ सय (प्रतिदिन)

३. होटल चण्डिका (प्रतिव्यक्ति १ हजार २ सय, दुई जनाको १ हजार ८ सय (प्रतिदिन)

प्रतिक्रिया दिनुहोस्