चीनले नेकपालाई प्रशिक्षण दिएकोप्रति संसदमा कांग्रेसको कडा आपत्ति


न्युज अफ नेपाल, काठमाडौं ।

केही दिनअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भर्चुअल अन्र्तक्रिया भएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले चीन र भारतबीच सीमा विवादमा झडप हुँदा भारतीय सेनाका २० जनाको निधन भएको अवस्थामा नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिनु आपत्तिजनक भएको बताएको हो ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाउनुभयो । विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कूटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको बताउदै उहाँले भारत र चीनसँग नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो ।

कूटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहेका थिए, चीनले नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ, रिजालले भन्नुभयो ।