कागेश्वरी मनोहरा नगरपालिकाको बजेट १ अर्ब ६७ करोड


न्युज अफ नेपाल, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को लागि १ अर्ब ६७ करोड ५ लाखको बजेट ल्याएको छ । चौथो नगर सभामा उक्त बजेट पेश गरिएको हो । जस अनुसार कुल चालु खर्च ३८ करोड ३२ लाख ८८ हजार र पुँजीगत खर्च १ अर्ब २८ करोड ७२ लाख ८१ हजार बजेट नगरसभामा पेश गरिएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । बजेटमाथि नगरसभा छलफल जारी रहेको छ ।

नगरसभामा आर्थिक बर्ष २०७७/०७८ को आर्थिक बिधेयक,आर्थिक बर्ष २०७७/०७८ को बिनयोजन बिधेयक, आर्थिक बर्ष २०७६। ०७७ को श्रावण १ गतेदेखि २०७७ जेठ मसान्तसम्म तेस्रो नगर सभाले गरेको बिनियोजन बजेटबाट गरिएको बिकास निर्माणको खर्च बिवरण र प्रगति पेश गरिएको छ ।
नगरसभामा गोकर्णेश्वर नगरपालिकाको वडा नं. १,२ र ४, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १,२,३ र ४ र शंखरापुर नगरपालिकाको वडा नं. ९ सहितको जग्गामा संयुक्त रूपमा ब्यबस्थित घडेरीको लागि डिपिआर तयार गर्न पूर्वी काठमाडौ जग्गा एकिकरण (ल्याण्ड पुलिड्ग) आयोजना, आयोजना व्यवस्थापन समिति गठन भएको समेत जानकारी गराइएको थियो ।
नगरप्रमुख थापा संयोजक रहेको समितिले तीन वटा नगरपालिकाभित्र २६ हजार रोपनी जग्गाको सम्भाव्यता अध्ययन गर्ने काम अगाडि बढाएको छ ।