केपी ओलीले भन्दैमा एमसीसी पारित हुँदैनः नेता खनाल


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन विना पारित नहुने बताउनुभएको छ ।
पार्टीले एमसीसीको बारेमा अध्ययन अनुसन्धान गरेर संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान कायमै रहेको बताउदै उहाँले कसैको चाहनाले देशको हित विपरीतको सम्झौता पारित हुन नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त पारित गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ नि भन्ने न्युज अफ नेपालको जिज्ञासामा वरिष्ठ नेता खनालले भन्नुभयो,‘प्रधानमन्त्री ओलीले भन्दैमा एमसीसी पारित हुँदैन, पार्टीले संशोधन नगरी पारित गर्न नहुने अडानमा अडिक छ ।’

एमसीसीको बारेमा हिजो बसेको सचिवालय बैठकमा कुनै छलफल नभएको बताउदै उहाँले असार १० गते बस्ने स्थायी समिति बैठकले एमसीसीको बारेमा निर्णय लिने बताउनुभयो ।

‘मेरो नेतृत्वमा बनेको कार्यदलले संशोधन विना एमसीसी पारित गर्न नहुने प्रतिवेदन सचिवालय बैठकमा बुझाएको छ, अध्ययन अनुसन्धान गरेर प्रतिवेदन दिएको हो, अहिलेकै अवस्थामा एमसीसी पारित गर्न मिल्दैन र हुँदैन’, नेता खनालले भन्नुभयो ।