कोरोना संक्रमित संख्या ५० हजार पुग्ने सेनाको आंकलन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

बदलिँदो परिस्थितिको समिक्षा गर्दै नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालयमा भइरहेको छ ।
भारतसंग सीमा विवाद र कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर सेनाले गत शुक्रवार पृतनापतिको सम्मेलन बोलाएको हो ।

भेलामा आठै पृतनाका पृतनापतिहरुले आ–आफ्नो कार्यक्षेत्रमा देखिएका समस्याहरुको बारेमा सुनाएका थिए । भारत र अन्य मुलुकबाट आउने नेपालीको संख्या बढीरहेको भन्दै कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने आंकलन गरेको सैनिक मुख्यालयले जनाएको छ ।
सेनाको छलफलमा संक्रमितको संख्या ५० हजार नाघ्न सक्ने विश्लेषण गरिएको छ । साथै भविष्यमा कोरोना भाइरसको महामारी उच्च बिन्दुमा पुग्दा आईपर्ने चुनौतीलाई कसरी सामना गर्ने भन्नेबारेमा समेत वैठकमा छलफल भइरहेको छ ।

वैठकमा कोरोना संक्रमित संख्या १० हजार कटे सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने भन्दै त्यसका लागी सेनालाई कसरी तयारी हालतमा राख्ने भन्ने वारेमा समेत छलफल भएको छ । सरकारले स्वास्थ्य सामाग्री खरिदको जिम्मेवारी समेत सेनालाई दिएको थियो । सेनाले महंगो मुल्यमा औषधी खरिद गरेको र समयमा सामग्री खरिद गर्न नसकेको भन्दै सेनाको आलोचना समेत भइरहेको छ । सेनालाई खरिद प्रक्रियामा संलग्न गराउन नहुने आवाज पनि अहिले सर्वत्र उठिरहेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा विवादमा आएपछि सेनाले यसबाट अलग हुने जानकारी सरकारलाई दिइसकेको स्रोतको दावी छ । पृतनापति सम्मेलनमा सेना मुल कामबाट अन्य क्षेत्रमा प्रवेश गर्न नहुने जर्नेलहरुले धारणा राखेका छन् । यसले भविष्यमा सेनाको छवि नै बिग्रिने चिन्ता उनीहरुले गरेका छन् ।