इन्धन बोकेको टैंकर विस्फोटमा १९ को मृत्यु


साङ्घाई, (एजेन्सी)

दक्षिणपूर्वी चीनमा एउटा इन्धन बोकेको टैंकर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको तथा अन्य १ सय ७० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । तरल प्राकृतिक ग्यास बोकेको सो टैंकर शनिबार झेजियाङ राजमार्गमा विस्फोट भएको हो ।

सामाजिक सन्जालमा राखिएका तस्वीरमा घटनास्थलमा भग्नावशेष र धुवाँ भरिएको तथा वरपरका भवनहरु पनि क्षतिग्रस्त भएको देखिन्छ । स्थानीय प्रशासनले दुर्घटनाको कारण खोजिरहेको छ । वेन्लिङ शहरनजिकको लियाङसान गाउँ छेउमा विस्फोट भएको थियो ।

क्षतिग्रस्त ट्रक राजमार्गनजिकको एउटा करखानाको भवनमा ठोकिँदा दोस्रो विस्फोट भएको थियो । झु मिन्गलियानका उपमेयरले दुर्घटनास्थलमा २ हजार ६ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको तथा अझै जीवित व्यक्ति भेटिने आसमा खोजिकार्य भइरहेको बताएका छन् ।