संविधान संशोधन विधेयक सर्वसम्मत स्वीकृत


  • नेपाल समाचारपत्र, काठमाडौं ।

बहुचर्चित संविधान विधेयक प्रतिनिधिसभाको बैठकले सार्वसम्मतरूपमा पारित गरेको छ । सरकारले नेपालको भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि ‘नेपालको संविधानको दोस्रो संंशोधन विधेयक–२०७७ लाई विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेको थियो । मंगलबारको बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज संसद्मा सुनिएको थिएन ।
सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरूलाई ७२ घन्टाको समय उपलब्ध गराइएको छ ।

सो विधेयकमा विचार गरियोस् भनी मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुउपर आगामी दिनमा छलफल गरिने बताउनुभयो ।

उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौं ।” प्रतिनिधिसभाको अर्को बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको छ ।