स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन परमादेश


हेटौंडा, (नेस)

कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन बाग्मती प्रदेश सरकारका नाममा उच्च अदालत हेटौंडाले परमादेश जारी गरेको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र नागेन्द्रलाल कर्णको संयुक्त इजलासले बाग्मती प्रदेश सरकारको नाममा परमादेश जारी गरेको हो ।

हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागार्इंले कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षा सामग्रीहरू उपलब्ध गर्न-गराउन, निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, निःशुल्क स्वास्थ्य परीक्षण गर्न, मास्क तथा सेनिटाइजर उपलब्ध गराएर सार्वजनिक ठाउँमा साबुनपानीबाट हातधुने व्यवस्था गर्न, बाटोमा अलपत्र परेका उक्त रोगका कारण खान–बस्न नपाएका श्रमिक तथा मजदुरलाई तत्काल खान–बस्न र उपचारको न्यूनतम व्यवस्था गर्नु अपरिहार्य देखिएकाले त्यस्ता व्यक्तिको आवश्यक पहिचान गरी खान–बस्नसमेतको आवश्यक व्यवस्था मिलाउन चैत १० गते रिट दर्ता गराउनुभएको थियो ।

फैसलमा कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षा सामग्रीहरू उपलब्ध गर्न÷गराउन, निःशुल्क औषधि उपचारको व्यवस्था गर्न परमादेशको आदेश प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयसमेतका आदेश नाममा जारी भएको छ ।

रिट निवेदनमा निवेदकका तर्फबाट रिट निवेदक अधिवक्ता चौलागार्इं, अधिवक्ताहरू बालकृष्ण अधिकारी र सम्बल चौलागाईं र प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्समेतका तर्फबाट मुख्य न्यायाधिवक्ता ओम थपलिया र शान्ता वाइबा र विपक्षी जिल्ला प्रशासन कार्यालय मकवानपुरसमेतको तर्फबाट कामु सहन्यायाधिवक्ता बाबुराम अधिकारीले बहस गर्नुभएको थियो ।