नदी प्रदूषण हुन दिनुका कारण पेस गर्न आदेश


काठमाडौं, (नेस)

नारायणी, दरौंदी, चेपे, मादी, मस्र्याङ्दी, कालीगण्डकी, बूढीगण्डकीलगायतका नदीमा प्रदूषण गर्न दिनुको कारण पेस गर्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको इजलासले १५ दिनभित्र त्यस्तो कारण पेस गर्न आदेश दिएको हो ।

ती नदीमा उद्योगधन्दा तथा व्यक्तिले समेत फोहोरमैला फाली प्रदूषण गरेका उल्लेख गर्दै त्यस किसिमबाट फोहोरमैला नगर्नका लागि आदेश दिन रिट निवेदनमा माग गरिएको थियो ।

कानुन, न्याय तथा सामाजिक कल्याण मञ्च, नेपालका अधिवक्ताहरू जगन्नाथ मिश्र, शारदा गुरुङ, नवीन कार्की र सुमिता डंगोलद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा कोही पनि व्यक्ति तथा निकायबाट ती नदीहरूमा ढल तथा फोहोरमैला विसर्जन गरेमा कानुनबमोजिम हदैसम्म कारबाही गर्नु भनी आदेश दिन पनि माग गरिएको छ ।

नदीहरू प्रदूषण हुँदै गएका कारण प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलगायतका हकको हनन भएको रिट निवेदनमा उल्लेख गरिएको थियो । सर्वोच्चले सो रिट निवेदनलाई प्राथमिकतामा राखी सुनुवाइ गर्न पनि आदेश दिएको सर्वोच्चबाट थाहा भएको छ ।