छैटौं संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ


बैतडी, (नेस)

बैतडीका छैटौं संक्रमितको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । जेठ १९ गते संक्रमण पुष्टि भएका बैतडी पाटन नगरपालिका–८ का ३४ वर्षीय पुरुषको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

संक्रमितको थ्रोट स्वाब संकलन गरी धनगढी प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

संक्रमितलाई कोरोना निको भए÷नभएको थाहा पाउन संक्रमण पुष्टि भएका १ हप्तापछि पुनः पीसीआर गर्ने गरिन्छ । लगातार २४ घन्टामा दुईपटकसम्म रिपोर्ट नेगेटिभ आए कोरोना निको भएको मानिन्छ ।

ती युवकको मंगलबार पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । संक्रमित युवकलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ ।

युवकको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । जेठ ८ गते भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै स्वदेश पुगेका थिए । ती पुरुषलाई ८ गते राति घरमा गएका र ९ गते मात्रै भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा ल्याइएका थिए ।

पाँच संक्रमित डिस्चार्ज
यसअघि बैतडीका ५ संक्रमितमध्ये पहिलो संक्रमित १३औं दिनमा कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवक जेठ २१ गते कोरोना जितेपछि डिस्चार्ज भएका हुन् ।

यस्तै जेठ १० गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुष, अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका पनि यही जेठ २३ गते सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीहरूमा कोरोना निको नभए पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने नयाँ निर्देशिका स्वास्थ्य मन्त्रालयले पारित गरेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज गरिएका चारैजना हाल होम क्वारेन्टाइनमा रहेका छन् । बैतडीका सबै ६ जना संक्रमित भारतबाट फर्किएका हुन् ।