सिन्धुलीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

0
Shares

  • बुद्ध नेपाली,सिन्धुली 

सिन्धुलीमा सोमवार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएका छन् । सिन्धुलीको घ्याङलेख गाउपालिकामा बोलेरो दुर्घटना हुदाँ एक जना र हरिहरपुरगढी गाउपालिका स्थित मदन भण्डारी राजमार्गमा ट्रकले र मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

घ्याङलेख गाउपालिका –१ अमलेमा बोलेरो गाडी दुर्घटना हुदाँ घ्याङलेख गाउपालिका –१ अमलेका बलराम बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीमाढीबाट खाद्यान्न लिएर घ्याङलेख तर्फ जादै गरेको ना २ च ९३६६ नम्बरको बोलेरो उकालोमा आट लगाएर रोक्नेक्रममा ब्रेकफेल भई तलतिर झरी किच्दा बम्जन घाईते भएका थिए ।

घाईते बम्जनलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याए पनि सोमवार राती साढे नौ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । गाडीका चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन् ।

उता मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउपालिका –५ गाग्रेढुङामा ट्रकले बिपरित दिसाबाट आईरहेको मोटरसाईकलाई ठक्कर दिंदा हरीहरपुरगढी गाउपालिका–३ बनौलीका सन्तराम राईको मृत्यु भएको छ ।

हरिहरपुरगढी गाउपालिका भलखडाबाट मरिण गाउपालिकाको कपिलाकोट तर्फ आउदै गरेको ना.१.क ९८०५ नम्बरको मिक्चर ट्रकले बिपरित दिसाबाट जादै गरेको प्रदेश ३–०२–०१० प २३७२ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका राईको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

दुर्घटनामा मोटरसाईकल चालक हरीहरपुरगढी गाउपालिका –३ बनौलीका ३० बर्षिया बिकाश बि.क. गम्भिर घाईते भएको प्रहरी नायव उपरिक्षक खत्रीले जनाए । घाईते विकलाई थप उपचारका लागि सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल रिफर भएकोमा त्यहाबाट पनि रिफर भएर अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनुभयो ।