एन्टिबडी क्लिनिकल ट्रायलका लागि चीन तयार


वेइजिङ, (एजेन्सी)
चाइना एकेडमी अफ साइन्सेजको इन्स्टिच्युट अफ माइक्रोबायोलजीले कोरोना भाइरसको उपचारका लागि मोनोक्लोनल एन्टिबडीको क्लिनिकल ट्रायलका लागि तयार भएको घोषणा गरेको छ । यसको प्रयोगका लागि नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्टे«सनले पनि अनुमति दिएको छ ।

चीनको कोभिड–१९ को एन्टिबडी औषधी क्लिनिकल आकलनको चरणमा पुगिसकेको छ । पहिलो चरणको क्लिनिकल ट्रायलमा स्वस्थ व्यक्तिहरूमा एन्टिबडीको सुरक्षा र डोजका लागि परीक्षण गरिनेछ । स्वस्थ्य व्यक्तिहरूमा मोनोक्लोनल एन्टिबडी उपचार पहिलोपटक हुन लागेको हो ।

कोरोना भाइरसको उपचारको खोजमा यो एक ठूलो कदम भएको वेइजिङका एक इम्युनोलजिस्टलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले जनाएको छ । उनका अनुसार मोनोक्लोनल एन्टिबडी इन्फेक्सियस रोगको उपचारका लागि अत्यन्त कम प्रयोग हुन्छ ।

कैयौं देशका अनुसन्धान टोली मोनोक्लोनल एन्टिबडीलाई कोरोना भाइरसको उपचारका लागि काम गरिरहेका छन् तर केही स्तरको परीक्षणमै सीमित छन् ।

मोनोक्लोनल एन्टिबडीको आकार फरक हुन्छ र यो टोलीले जुन एन्टिबडी बनाएको हो त्यसको बौद्धिक सम्पत्ति अधिकार चीनसँग रहेको विज्ञहरू बताउँछन् । यसअघि नेचर अखबारले चीनका विज्ञहरूको टोलीको उक्त शोध छापेका थिए ।

एन्टिबडीले भविष्यमा धेरै आशा जगाएको इन्स्टिच्युटले जनाएको छ । यद्यपि परीक्षणलाई लिएर उपचारका रूपमा प्रयोग हुन अझै लामो मार्ग तय गर्न बाँकी छ, त्यसपछि मात्र विश्वभरि यो कोरोनाविरुद्ध प्रयोग गर्न सकिनेछ ।

यसैबीच अमेरिकाका वैज्ञानिकहरूले पनि कोभिड–१९ बाट ठीक भएका एक बिरामीको रगतको नमुनाबाट तयार गरेको औषधी मानवमा परीक्षण शुरू गरेको छ ।